रवि लामिछानेको संसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि लामिछानेको संसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट निवेदन अदालतमा पेस भए पनि अझै दर्ता भएको छैन। हाल उक्त निवेदन अध्ययनकै क्रममा रहेको छ। कानुनका विद्यार्थी आयुष बडालले मंगलबार रिट दिएका हुन्।

उनले संघीय संसद् सचिवालय, सभामुख, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र रवि लामिछानेलाई विपक्षी बनाएर निवेदन दिएका छन्। रिटमा लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलिरहेकाले अन्तिम फैसला नआउँदासम्म उनलाई सांसदको रूपमा काम गर्न नदिन माग गरिएको छ।

निवेदनमा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’ अनुसार यस्तो अवस्थामा स्वतः निलम्बन हुनुपर्ने दाबी गरिएको छ। रिटमा गम्भीर आरोप लागेका व्यक्तिलाई मुद्दा टुंगो नलागेसम्म सार्वजनिक पदमा राख्नु उचित नहुने पनि उल्लेख गरिएको छ। हाल विभिन्न सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा विचाराधीन छ। संसद् सचिवालयबाट स्पष्ट जानकारी नपाएपछि सर्वोच्चमा रिट दायर गरिएको जनाइएको छ।

रिट निवेदकले स्वच्छ र जिम्मेवार संसद् बनाउन तथा निष्पक्ष न्याय सुनिश्चित गर्न यो कदम चालिएको बताएका छन्।