एमालेद्वारा गृहमन्त्री गुरुङको राजीनामा माग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ। सम्पत्ति विवरणमा सेयर कारोबार लुकाएको र विवादास्पद व्यापारीसँग सम्बन्ध रहेको आरोपपछि एमालेले यस्तो माग गरेको हो।
एमालेले गृहमन्त्रीसँग जोडिएका विषयले गम्भीर प्रश्न उठाएको र सम्भावित अनियमितता बाहिर आउन सक्ने जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेका छन्।
एमालेले उच्चस्तरीय छानबिन समिति गठन गरी तत्काल अनुसन्धान अघि बढाउनुपर्ने बताएको छ। साथै, अनुसन्धानमा कुनै दबाब वा प्रभाव नपर्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा गृहमन्त्रीले पनि अनुसन्धान सहज बनाउन पदबाट मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरिएको छ। एमालेले यो विषयमा जनचासो बढेको भन्दै आगामी दिनमा थप छलफल हुने जनाएको छ।








