एमाले सचिवालय बैठक ओली निवासमा जारी, जेनजी आन्दोलनपछि पहिलो औपचारिक छलफल


काठमाडौ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा जारी छ। जेनजी युवा आन्दोलनपछिको यो पहिलो औपचारिक बैठक भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ।
पार्टीभित्र नेतृत्वप्रति उठेका प्रश्न र आन्दोलनपछिको समग्र राजनीतिक परिवेशका सन्दर्भमा बोलाइएको बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको बताइएको छ। बैठकमा जेनजी आन्दोलन, त्यसमा भएको जनधनको क्षति, तत्कालीन सरकारले खेलेको भूमिका र पार्टीको आगामी रणनीति लगायतका विषयमा समिक्षा हुने एमाले स्रोतको भनाइ छ।
जेनजी आन्दोलनलाई लिएर एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा सरकारले 'ताकी ताकी गोली हान्ने आदेश' नदिएको बताएका थिए । साथै, उनले प्रहरीद्वारा प्रयोग हुने हतियारबाहेकका गोली चलेको दाबी गर्दै आएका छन् ।