आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। देशभरका कम्युनिष्ट दलहरूले कार्यक्रम आयोजना गरेर यो दिनलाई सम्झिरहेका छन्।
नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात २००६ साल वैशाख ९ गते भएको थियो। पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो। त्यसबेला उनी पार्टीका महासचिव बनेका थिए।
स्थापनापछि लामो समयसम्म संघर्ष गर्दै आएका कम्युनिष्ट दलहरूले नेपालमा पटक–पटक सरकारसमेत चलाएका छन्। विशेषगरी २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट आन्दोलन बलियो बनेको थियो।
तर पछिल्ला वर्षहरूमा पार्टीभित्रको टुटफुट, विवाद र सत्ता केन्द्रित राजनीतिका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको भन्दै आलोचना हुने गरेको छ।
आजको दिन नेकपा एमाले लगायत अन्य कम्युनिष्ट पार्टीहरूले कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाइरहेका छन्। यो दिनलाई कम्युनिष्ट आन्दोलनको इतिहास सम्झने अवसरका रूपमा लिइएको छ।







