वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक छ: प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पुष्पकमल दाहालले नेपालका वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी को ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्।
प्रचण्डले सबै कम्युनिष्ट शक्ति एक ठाउँमा नआएसम्म लक्ष्य हासिल गर्न कठिन हुने स्पष्ट पारेका छन्। उनले समतामूलक समाज निर्माण गर्न र गरिब, किसान तथा श्रमिकको पक्षमा काम गर्न एकता अनिवार्य भएको बताएका छन्।
उनले विगतका संघर्षबाट प्राप्त उपलब्धि जोगाउँदै आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न विभिन्न राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
प्रचण्डले समाजमा अझै विभेद रहेको भन्दै यस्तो अवस्था रहँदासम्म कम्युनिष्ट आन्दोलनको आवश्यकता रहने बताएका छन्। उनले वर्तमान विश्व परिस्थितिमा साम्राज्यवादको प्रभाव बढ्दै गएको भन्दै लेनिनका विचार अझ सान्दर्भिक बनेको बताएका छन्।
यस अवसरमा उनले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र शहीद परिवारप्रति सम्मान व्यक्त गरेका छन्। साथै कम्युनिष्ट आन्दोलनलाई पुनः संगठित गरेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्।







