राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारमा बढेको तरलता नियन्त्रण गर्न ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकले १६८ दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरेर उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि आजै बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

बोलकबोलमार्फत नै ब्याजदर तय हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव राख्नुपर्नेछ। राष्ट्र बैंकले कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्ने जनाएको छ।

उठाइएको रकमको साँवा र ब्याज असोज २१ गते भुक्तानी गरिनेछ। यस्तो रकम अनिवार्य नगद मौज्दातमा गणना नहुने भए पनि एसएलआर र लिक्विडिटी रेसियोमा भने समावेश गर्न पाइनेछ। राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त पैसा व्यवस्थापन गर्न यस प्रकारको निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।