सांसदलाई कूटनीतिक राहदानी दिन कानुन संशोधनको तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of सांसदलाई कूटनीतिक राहदानी दिन कानुन संशोधनको तयारी

काठमाडौ । प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी दिने व्यवस्था सहज बनाउन कानुन संशोधन गर्ने तयारी भएको छ। बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतकहरूसँग यस विषयमा छलफल गरेका हुन्।

छलफलमा सांसदहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने विद्यमान कानुनी व्यवस्था कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषय उठाइएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीका अनुसार अहिलेको कानुन बाहिर नगई, कानुनी व्यवस्था भित्रै रहेर सुधार गर्ने विषयमा छलफल भएको हो।

हालको नियमअनुसार सरकारी कार्यक्रम वा तोकिएका पदाधिकारीलाई मात्र कूटनीतिक राहदानी दिने व्यवस्था छ। तर सांसदहरू विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्था हुँदा अहिलेको व्यवस्था अनुसार कूटनीतिक राहदानी दिन कठिनाइ हुने देखिएको छ।

यही कारण सांसदहरूलाई सहज हुने गरी कानुन परिमार्जन गर्ने विकल्पबारे छलफल भएको हो। छलफलमा सहभागीहरूले आ–आफ्ना दलमा थप परामर्श गर्ने र पछि पुनः सभामुखसँग छलफल गर्ने सहमति गरेका छन्।