नैतिकताको आधार देखाउदै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी र अन्य विषयमा उठेका प्रश्नपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।
गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आजैदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्। उनले चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हालेको स्मरण गर्दै सार्वजनिक जीवनमा स्वच्छता र पारदर्शिता आवश्यक रहेको बताएका छन्।
उनले राजीनामा सन्देशमा पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गरेका छन्। साथै, हाल देशमा चलिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवनमा इमानदारी र जवाफदेहिताको माग उठाएको भन्दै त्यसले आफूलाई पनि प्रभावित गरेको बताएका छन्।
उनका अनुसार, आफ्नो विषयमा निष्पक्ष छानबिन होस् र कुनै स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले पद छोडिएको हो। राजीनामा घोषणाका क्रममा उनले सञ्चारमाध्यमप्रति पनि टिप्पणी गरेका छन्। साथै, उनले सबैलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न अपिल गरेका छन्। गुरुङको राजीनामापछि गृह मन्त्रालयको नेतृत्वबारे अब नयाँ निर्णयको प्रतीक्षा भइरहेको छ।







