सरकार बनेको २६ दिनमै दुई मन्त्री बाहिरिए, विवाद र दबाब मुख्य कारण
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्।
यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदबाट हटेका थिए। आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्य बनाउने प्रक्रियामा अनियमितता भएको आरोपपछि उनलाई पदबाट फिर्ता बोलाइएको थियो। सम्बन्धित दलको सिफारिसपछि प्रधानमन्त्रीलाई जानकारी गराएर उनलाई हटाइएको बताइएको छ।
त्यसपछि अहिले गृहमन्त्री सुधन गुरुङ ले पनि राजीनामा दिएका छन्। उनको सम्पत्ति र लगानीबारे प्रश्न उठेपछि उनले बुधबार पद छोडेका हुन्। गुरुङले केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरणबारे नै शंका गरिएको थियो। त्यसपछि माइक्रो इन्स्योरेन्स लगायत क्षेत्रमा गरिएको लगानी र उनको सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत भएको आर्थिक कारोबारबारे पनि प्रश्न उठेको बताइएको छ।
यी विषयहरू सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिनुपर्ने दबाब बढेको थियो। अन्ततः उनले सोही दबाबका बीच पदबाट राजीनामा दिएका हुन्। छोटो समयमै दुई मन्त्री बाहिरिएपछि सरकारको पारदर्शिता र स्थायित्वबारे राजनीतिक रूपमा चर्चा भइरहेको छ।







