एमालेलाई रूपान्तरण गर्ने प्रस्तावसहित ‘नेक्स्टजेन एमाले’ छलफल अघि बढ्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले भित्र पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने उद्देश्यसहित ‘नेक्स्टजेन एमाले’ भन्ने नयाँ अवधारणा अघि सारिएको छ। विशेष महाधिवेशन पक्षधर समूहले यो अवधारणासँग सम्बन्धित छलफल पत्र सार्वजनिक गर्दै पार्टीभित्र व्यापक बहस सुरु गरेको हो। उनीहरूले पार्टीलाई अझ जनमुखी, उत्तरदायी र आधुनिक बनाउन संरचनागत तथा व्यवहारगत सुधार आवश्यक रहेको बताएका छन्।
छलफल पत्रमा वर्तमान राजनीतिक अवस्थालाई 'संकटको घडी' भनेर व्याख्या गरिएको छ। एमालेप्रति जनताको विश्वास घट्दै गएको भन्दै त्यसलाई पुनःस्थापित गर्न नयाँ सोच र कार्यशैली आवश्यक रहेको उल्लेख गरिएको छ। पार्टी अहिले वैचारिकभन्दा बढी संगठनात्मक, नीतिगत र कार्यशैलीगत समस्यासँग जुधिरहेको पनि छलफल पत्रमा भनिएको छ।
‘नेक्स्टजेन एमाले’ अवधारणामा पार्टीलाई जनतासँग नजिक ल्याउने, पुरानो पुस्ता र नयाँ पुस्ताबीच सन्तुलन मिलाउने तथा जरास्तरमा संगठनलाई बलियो बनाउने प्रस्ताव गरिएको छ। “जनतातर्फ फर्किने, जरातर्फ जाने” भन्ने मूल नारासहित पार्टीलाई पुनर्जागरण गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावमा पार्टीभित्र खुला बहस र समीक्षा संस्कृतिलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएको छ। निर्णय प्रक्रियामा पारदर्शिता बढाउने, नागरिक समाजसँग नियमित संवाद गर्ने र सुझाव संकलन गर्ने प्रणाली विकास गर्नुपर्ने सुझाव पनि राखिएको छ। पार्टीलाई बन्द संरचनाबाट खुला र उत्तरदायी संगठनमा रूपान्तरण गर्नुपर्ने भनिएको छ।
नीतिगत सुधारका रूपमा नेतृत्वमा अधिकतम दुई कार्यकालको सीमा, प्रत्यक्ष मतदानबाट नेतृत्व चयन, उम्मेदवार छनोटमा प्राइमरी प्रणाली, निर्वाचन हारपछि अनिवार्य जवाफदेहिता र भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता प्रस्ताव समेटिएका छन्। साथै, योग्य व्यक्तिहरूलाई पार्टीमा प्रवेश दिने र वैज्ञानिक मूल्यांकन प्रणाली लागू गर्ने सुझाव पनि दिइएको छ।
छलफल पत्रमा युवाको सहभागिता बढाउने, पूर्णकालीन कार्यकर्ता संस्कृतिमा सुधार गर्ने र राजनीतिलाई पेशाभन्दा सामाजिक सेवाका रूपमा विकास गर्नुपर्ने उल्लेख छ। पार्टीका अनुभवी नेताहरूका लागि मार्गदर्शन समिति गठन गर्ने प्रस्ताव पनि अघि सारिएको छ।







