सीमा नाकामा सास्ती बढेको भन्दै महन्थ ठाकुरको चेतावनी, ‘विद्रोहको नजिक पुग्दैछौं’

User Image Prime TV News २ हप्ता अगाडि
Image of सीमा नाकामा सास्ती बढेको भन्दै महन्थ ठाकुरको चेतावनी, ‘विद्रोहको नजिक पुग्दैछौं’

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका नेता तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सीमा नाकामा सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको बताएका छन्। उनले राज्यको व्यवहार यस्तै रहिरहे आफूहरू विद्रोहको नजिक पुग्ने चेतावनी दिएका छन्।

बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ठाकुरले सीमामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि कर तिर्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार मानिसको अनुहार हेरेर फरक व्यवहार गर्ने र अपमानित गर्ने काम भइरहेको छ।

उनले गरिब नागरिकहरू दैनिक आवश्यक सामग्री जस्तै चामल, नुन, तेल र पीठोका लागि भारत जान बाध्य भएको बताए। तर सानो मात्र सामान ल्याउँदा पनि सीमामा दुःख दिइने र सामान खोसिने डर हुने उनको भनाइ छ।

ठाकुरले सरकारका मन्त्रीहरू जनताको समस्या सुन्ने अवस्थामा नरहेको आरोप पनि लगाए। उनले वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ भन्दै राजधानीमा बसेर निर्णय गर्दा मधेशका जनताको समस्या नदेखिएको टिप्पणी गरे।

उनले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई असर पार्ने गरी सीमा क्षेत्रमा कडाइ भइरहेको भन्दै आपत्ति जनाए। विवाहका गाडी रोकिने र जन्तीलाई पैदल हिँडाउन बाध्य पार्ने जस्ता घटनाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर परेको उनले बताए।

ठाकुरले यदि यही अवस्था जारी रहे राज्य र जनताबीच दूरी अझ बढ्ने चेतावनी दिँदै समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।