विद्यार्थी संगठनहरूको सरकारविरुद्ध प्रदर्शन, अधिकार कटौती र महँगीको विरोध
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । विभिन्न विद्यार्थी संगठनहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले विद्यार्थी अधिकार कटौती भएको, महँगी बढेको र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाइएको भन्दै विरोध जनाएका हुन्।
बिद्यार्थीहरूले संगठित हुन पाउने अधिकार खोसिएको, विद्यार्थीलाई दिइँदै आएको गाडी भाडा छुट हटाइएको र दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढिरहेको आरोप लगाएका छन्। उनीहरूले यी समस्याले विद्यार्थी जीवन कठिन बनेको बताएका छन्।
त्यस्तै, अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गरिएको भन्दै उनीहरूले सरकारको कदमप्रति आपत्ति जनाएका छन्। उनीहरूले सरकारलाई विद्यार्थी र सर्वसाधारणको समस्या नसुनेको आरोप पनि लगाएका छन्।
यसैबीच, नेपाल ल क्याम्पस स्ववियु र कानुनका विद्यार्थीहरूले पनि छुट्टै मार्चपास गरेका छन्। उनीहरूले सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको भन्दै लोकतान्त्रिक अधिकारको संरक्षण गर्नुपर्ने माग गरेका छन्। विद्यार्थी संगठनहरूले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्।







