अतिक्रमित जग्गा खाली गर्ने तयारीबारे काठमाडौ महानगरमा छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of अतिक्रमित जग्गा खाली गर्ने तयारीबारे काठमाडौ महानगरमा छलफल

काठमाडौ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारीसँगै काठमाडौ महानगरपालिकामा छलफल भएको छ। सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको खबर बाहिरिएपछि महानगरले समन्वयका लागि बैठक गरेको हो।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सम्बन्धित वडाध्यक्षहरू र महानगर प्रहरी प्रमुख विष्णु जोशीसँग छलफल गरेकी छन्। छलफलमा थापाथली क्षेत्रका ६, ११, १७ र ३२ नम्बर वडाका वडाध्यक्षहरू सहभागी थिए।

यसअघि काठमाडौका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले महानगरको टोलीसँग छलफल गर्दै समन्वय गरेर काम गर्न आग्रह गरेका थिए। उनले संघीय सरकारको तयारीमा महानगरले सहजीकरण गर्नुपर्ने बताएका थिए।

छलफलमा सहभागी एक वडाध्यक्षका अनुसार सीडीओले थापाथली क्षेत्रका बासिन्दालाई डोजर चल्नुअघि नै सुरक्षित रूपमा हटाउनुपर्ने र उनीहरूको सामान सुरक्षित राख्न नगर प्रहरीको सहयोग आवश्यक पर्ने बताएका थिए। त्यसअनुसार बासिन्दालाई अस्थायी रूपमा होटल र लजमा राख्ने तयारी पनि भइरहेको महानगर स्रोतले जनाएको छ।

सरकार र महानगरबीच समन्वय गरेर अतिक्रमित जग्गा खाली गर्ने काम अघि बढाउने तयारी भइरहेको छ।