कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु, भोली मतदान हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न औपचारिक रूपमा निर्वाचन प्रक्रिया सुरु गरेको छ। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ नेतृत्वको समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।
कार्यतालिका अनुसार आज मतदाता नामावली सार्वजनिक गरिएको छ। वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने सोही दिन दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने तय गरिएको छ।
समितिका अनुसार पार्टीभित्र सहमतिबाटै दलको नेता चयन गर्ने प्रयास भइरहेको छ। तर सहमति नभए निर्वाचनमार्फत नै नेता चयन गरी मतगणनापछि नतिजा घोषणा गरिनेछ। दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदारका रूपमा देखिएका छन्। साथै मोहन आचार्यदेखि निश्कल राईसम्मको नाम पनि चर्चामा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्।
दलको नेता चयनमा कांग्रेसभित्र लामो समयदेखि आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको छ। तर पछिल्लो कानुनी र राजनीतिक परिस्थितिपछि निर्वाचन प्रक्रिया अघि बढाइएको बताइएको छ।
प्रमुख प्रतिपक्षी दल भएकाले संसदीय दलको नेताको भूमिका संवैधानिक परिषद्मा समेत महत्वपूर्ण हुने भएकाले यो चयनलाई चासोका साथ हेरिएको छ।







