नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २८०० बाट तल झर्यो बजार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा झरेर बन्द भएको हो। बजारमा गिरावटसँगै अधिकांश कम्पनीका सेयर मूल्य घटेका छन्।
आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। यसबाट करिब ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। उप–सूचकतर्फ पनि अधिकांश क्षेत्र राताम्मे देखिएका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ। त्यस्तै जलविद्युत, फाइनान्स र बैंकिङ क्षेत्र पनि ओरालो लागेका छन्।
यद्यपि, उत्पादन तथा प्रशोधन, ट्रेडिङ र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिएको छ। आजको कारोबारमा केही कम्पनीका सेयर भने उच्च दरले बढेका छन्। पाल्पा सिमेन्ट र शिखर पावर लिमिटेडको सेयर मूल्य करिब १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
तर सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्, जसको सेयर मूल्य करिब १२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। त्यसपछि सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत रहेका छन्।
समग्रमा आज ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।







