विपद् व्यवस्थापनका लागि सरकारसँग आवश्यक स्रोत र साधन पर्याप्त छैन

User Image Prime TV News २ हप्ता अगाडि
Image of विपद् व्यवस्थापनका लागि सरकारसँग आवश्यक स्रोत र साधन पर्याप्त छैन

काठमाडौ । विपद् व्यवस्थापनका लागि सरकारसँग आवश्यक स्रोत र साधन पर्याप्त नभएको देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले यस्तो जानकारी दिएको हो। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको समितिको बैठकमा प्राधिकरणले उद्धार र राहतका लागि आवश्यक उपकरणको अभाव रहेको बताएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार मनसुनका बेला हेलिकप्टर, डुंगा र ड्रोनजस्ता साधन पर्याप्त छैनन्। त्यसैले आवश्यक पर्दा निजी क्षेत्रसँग सहकार्य गरेर सेवा लिनु परेको उनले बताए। उनले ड्रोन सेवा उपलब्ध गराउन सम्बन्धित संस्थासँग सम्झौता गरिएको र आवश्यक पर्दा ड्रोन र पाइलट उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिए।

त्यस्तै, हेलिकप्टरमार्फत उद्धारका लागि पनि निजी क्षेत्रसँग सहकार्य जारी रहेको छ। काठमाडौँभित्र निःशुल्क र बाहिर न्यून लागतमा उद्धार गर्ने समझदारी गरिएको छ। डुंगाको अभावका कारण र्‍याफ्टिङसँग सम्बन्धित संस्थासँग पनि सहकार्य गरिएको छ।

प्राधिकरणले आगामी दिनमा थप स्रोत जुटाउन निजी क्षेत्रसँग सहकार्य बढाउने तयारी गरेको जनाएको छ। यससँगै विपद् जोखिम कम गर्न स्थानीय तहलाई ढल तथा खोलानाला सफा राख्न आग्रह गरिएको छ। स्थानीय सरकारले प्रभावकारी रूपमा काम गरेमा विपद् व्यवस्थापन सहज हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।