सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः प्रहरी महानिरीक्षक कार्की
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालमा साइबर अपराधका घटना बढ्दै गएको पाइएको छ। नेपाल प्रहरी ले यस्तो जानकारी दिएको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार मोबाइल र इन्टरनेट प्रयोग बढेसँगै साइबर बुलिङ, अनलाइन ठगी र ह्यारेसमेन्टका घटना पनि बढिरहेका छन्।
बिहीबार संसदीय समितिको बैठकमा उनले विशेषगरी महिला र युवावर्ग यस्तो अपराधबाट बढी प्रभावित भइरहेको बताए। प्रहरीका अनुसार हालसम्म १० हजारभन्दा बढी वित्तीय अपराधका उजुरी दर्ता भएका छन्। त्यस्तै ४ हजारभन्दा बढी फेक एकाउन्टसम्बन्धी उजुरी र ३ हजारभन्दा बढी साइबर बुलिङ तथा ह्यारेसमेन्टका घटना दर्ता भएका छन्।
आईजीपी कार्कीले सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या भइरहेको बताए। प्लेटफर्महरू नेपालमा दर्ता नभएकाले प्रयोगकर्ताको विवरण पाउन र आपत्तिजनक सामग्री हटाउन ढिलाइ हुने गरेको उनले बताए। हाल टिकटक र भाइवर जस्ता केही प्लेटफर्म मात्र नेपालमा दर्ता भएका छन्। तर फेसबुक, इन्टा र ह्वाट्सएप जस्ता लोकप्रिय प्लेटफर्म दर्ता नभएकाले समस्या बढेको छ।
प्रहरीका अनुसार प्रयोगकर्ताको विवरण लिन २०–२५ दिनसम्म लाग्ने गरेको छ भने गम्भीर घटनामा भने छिटो जानकारी आउने गरेको छ। प्रहरीले साइबर अपराध नियन्त्रणका लागि कानुन बलियो बनाउन र सामाजिक सञ्जालसँग सहकार्य बढाउन आवश्यक रहेको जनाएको छ।







