काठमाडौको हावा झन् बिग्रियो, विश्वकै दोस्रो प्रदूषित सहर
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौँ उपत्यकामा शुक्रबार बिहान वायु प्रदूषण उच्च स्तरमा पुगेको छ। बिहान ७:२५ बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स १८४ पुगेको छ, जसले हावालाई अस्वस्थकर बनाएको छ।
वायु प्रदूषणको विश्व सूचीमा काठमाडौँ अहिले दोस्रो स्थानमा परेको छ। भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ, जहाँ एयर क्वालिटी इन्डेक्स २४८ पुगेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, स्वस्थ हावाका लागि एयर क्वालिटी इन्डेक्स ३५ भन्दा कम हुनुपर्छ। ५० सम्मको अवस्था सामान्य मानिए पनि त्यसभन्दा माथि जाँदा हावा मानव स्वास्थ्यका लागि हानिकारक बन्दै जान्छ।
विशेषज्ञहरूका अनुसार १५१ देखि २०० सम्मको एयर क्वालिटी इन्डेक्स अस्वस्थकर मानिन्छ। यसले विशेषगरी श्वासप्रश्वास र मुटुसम्बन्धी बिरामीलाई बढी असर गर्छ। २०१ माथिको अवस्था भने झन् खतरनाक हुन्छ।
हाल काठमाडौको अवस्था १८४ मा पुगेको हुँदा सामान्य मानिसले पनि असर महसुस गर्न सक्ने स्थिति देखिएको छ। बालबालिका, वृद्ध तथा दीर्घरोगीहरूका लागि यो अवस्था अझ जोखिमपूर्ण हुन्छ।
प्रदूषण बढेसँगै स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले अनावश्यक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।







