नेपाली कांग्रेसको संसदीय दल नेता चयन हुँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आज शुक्रबार संसदीय दलको नेता चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया अघि बढाएको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ।
संसदीय दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यसका अतिरिक्त मोहन आचार्य र निष्कल राईसहित अन्य केही नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन्।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन्, जसले आज दलको नयाँ संसदीय नेता चयनका लागि आफ्नो मत खसाल्नेछन्। पार्टीभित्रको आन्तरिक विवाद र मतभेदका कारण लामो समयदेखि अलपत्र परेको नेतृत्व चयन प्रक्रिया अन्ततः आज औपचारिक रूपमा अघि बढेको हो।
सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि यस प्रक्रियाको ढोका खुलेको हो। अदालतको यस फैसलाले पार्टीलाई संसदीय दलको नेता छनोटमा कानुनी स्पष्टता प्रदान गरेको छ। संसदीय दलको नेतृत्व चयनले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई थप सुदृढ र एकताबद्ध रूपमा संसदमा प्रस्तुत हुन सघाउने अपेक्षा गरिएको छ।
मतदानको नतिजा आज साँझसम्म सार्वजनिक हुने बताइएको छ ।








