थापाथलीमा सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध प्रदर्शन

User Image Prime TV News २ हप्ता अगाडि
Image of थापाथलीमा सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौ । काठमाडौंको थापाथली क्षेत्रमा सुकुमवासी बस्ती खाली गराउने सरकारी निर्णयविरुद्ध शुक्रबार विरोध प्रदर्शन भएको छ। स्थानीय बासिन्दा र युवाहरु सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन्।

प्रदर्शनका क्रममा 'डोजर आतंक बन्द गर', 'सुकुमवासीलाई आवासको हक देऊ' र 'निरंकुश सरकार चाहिँदैन' जस्ता नारा लगाइएको छ। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरुले बस्ती नछोड्ने अडान पनि व्यक्त गरेका छन्।

सरकारले थापाथलीसहित शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका सुकुमवासी बस्ती खाली गराउने तयारी गरेको छ। बिहीबार साँझदेखि प्रशासनले माइकिङ गरेर बासिन्दालाई स्थान खाली गर्न सूचना दिएको थियो। त्यसपछि केही परिवारले आफ्ना सामान सार्न थालेका छन् भने केही अझै बसिरहेकै छन्।

राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा विरोध कार्यक्रम भइरहेको छ। उनीहरुले थापाथलीबाट माइतीघर मण्डलासम्म र्‍याली निकाल्ने तयारी पनि गरेका छन्। सरकारको यो निर्णयपछि राजनीतिक प्रतिक्रिया पनि देखिएको छ। यसअघि सुकुमवासीको पक्षमा बोलेका नेताहरुको भनाइ र वर्तमान कदमबीच फरक देखिएको भन्दै प्रदर्शनकारीहरुले आलोचना गरेका छन्।

प्रशासनले पहिलो चरणमा काठमाडौंका चार बस्तीमा डोजर चलाउने जनाएको छ। देशभर ठूलो संख्यामा भूमिहीन र सुकुमवासी रहेका कारण यो विषय थप संवेदनशील बनेको छ।