हिरासतमा युवकको मृत्युपछि सिन्धुलीमा आन्दोलन, सांसदहरू धर्नामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सिन्धुलीमा प्रहरी हिरासतमा एक युवकको मृत्यु भएपछि विरोध बढेको छ। घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन्।
सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको हो। उनलाई केही दिनअघि ललितपुरबाट पक्राउ गरेर अनुसन्धानका लागि सिन्धुली ल्याइएको थियो। प्रहरीका अनुसार उनी हिरासतभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए।
अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। तर परिवारले भने प्रहरीको कुटपिटका कारण मृत्यु भएको आरोप लगाएको छ। घटनापछि श्रीकृष्णका आफन्त र स्थानीय बासिन्दा आन्दोलित छन्। उनीहरूले दोषीमाथि कारबाही र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। शव बुझ्न पनि परिवारले अस्वीकार गरेको छ।
यसैबीच, प्रशासनले घटनाको छानबिन गर्न समिति गठन गरेको जनाएको छ। सांसदहरू र प्रदर्शनकारीहरूले निष्पक्ष अनुसन्धान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।







