सुकुम्बासी बस्ती खाली गर्ने सरकारी तयारीबारे रास्वपा अनभिज्ञ

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुकुम्बासी बस्ती खाली गर्ने सरकारी तयारीबारे रास्वपा अनभिज्ञ

काठमाडौ । सरकारले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरे पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी यसबारे अनभिज्ञ रहेको देखिएको छ। रास्वपा प्रवक्ता तथा सांसद मनिष झाले यस विषयमा पार्टीभित्र कुनै औपचारिक छलफल नभएको बताएका छन्।

उनका अनुसार सरकारको निर्णयबारे जानकारी लिन सरकारकै प्रवक्तालाई सोध्नुपर्ने अवस्था छ। झाले भने, “यस विषयमा पार्टीभित्र औपचारिक छलफल भएको छैन। सरकारको निर्णयबारे सरकारकै प्रवक्तालाई सोध्नुहोस्।”

उनले अनौपचारिक छलफल भए पनि पार्टीको औपचारिक धारणा वा निर्णय नभएको स्पष्ट पारे। तर सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भने हिजो मन्त्रिपरिषदबाट सुकुम्बासी बस्ती हटाउने कुनै औपचारिक निर्णय नभएको बताएका थिए । 

यसैबीच सरकारले बागमती नदी किनारका घर–टहरा खाली गर्न ६ बुँदे निर्देशन जारी गरेको छ। शनिबार बिहानदेखि अतिक्रमित संरचना हटाउने तयारी गरिएको छ। रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा भने वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्ने योजना अघि सारेको थियो। तर अहिलेको सरकारी तयारीले त्यससँग फरक देखिएको भन्दै बहस सुरु भएको छ।

कतिपय सांसदहरूले तत्काल डोजर चलाउनु भन्दा पहिले दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।