सुकुमबासी बस्ती हटाउने तयारीको विरोधमा जेनजीको प्रदर्शन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सुकुमबासी बस्ती हटाउन सरकारले डोजर चलाउने तयारी गरेको भन्दै जेन–जी समूहहरूले विरोध प्रदर्शन गरेका छन्। जेनजी मुभमेन्ट अलायन्सको आह्वानमा युवाहरू सुकुमबासी बस्ती पुगेका थिए। उनीहरूले सरकारको कदमलाई निरंकुश भन्दै तत्काल रोक्न माग गरेका छन्।
प्रदर्शनका क्रममा युवाहरूले 'डोजर आतंक बन्द गर', 'उठीबास स्वीकार्दैनौं', 'आवासको हक सुनिश्चित गर' र 'अदालतको आदेश पालना गर' जस्ता नारा लगाएका थिए। जेनजी समूहले प्रहरी र डोजर प्रयोग गरेर बस्ती खाली गराउनु गलत भएको बताएको छ।
उनीहरूको भनाइमा संविधानले दिएको आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सबै नागरिकको हक हो, त्यसैले समस्या समाधान बल प्रयोगबाट होइन, संवादबाट हुनुपर्छ। उनीहरूले वास्तविक सुकुमबासी र भूमिहीन छुट्याउनका लागि सरकारलाई उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरेका छन्।
उनीहरूले दीर्घकालीन र न्यायपूर्ण समाधान खोज्न सरकारलाई आग्रह गर्दै तत्काल बल प्रयोग रोक्न माग गरेका छन्।







