सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयपछि रास्वपालाई ध्यानाकर्षण
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौका अतिक्रमित सुकुमवासी बस्ती हटाउने सरकारको अल्टिमेटमपछि त्यहाँ बसोबास गर्ने बासिन्दाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ध्यानाकर्षण गराएका छन्। सुकुमवासी संघर्ष समितिका प्रतिनिधिहरू सोमबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
उनीहरूले पार्टीका केन्द्रीय सदस्य खेमराज साउदलाई भेटेर आफ्ना समस्या र चिन्ता व्यक्त गरेका थिए। प्रतिनिधिहरूले सरकारले बस्ती हटाउने निर्णय गरेपछि आफूहरू अन्योलमा परेको भन्दै विकल्पसहित समाधान दिन आग्रह गरेका छन्। उनीहरूले सरकारको कदम कठोर र स्वेच्छाचारी भएको आरोप पनि लगाएका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै केन्द्रीय सदस्य साउदले मानव अधिकारको ख्याल राखेर मात्र कुनै पनि निर्णय गर्नुपर्ने बताएका छन्। उनले यस विषयमा पार्टीका तर्फबाट सरकारमा रहेका प्रतिनिधिहरूले पनि आवश्यक पहल गर्ने बताएका छन्। सरकारले सुकुमवासी बस्ती हटाउने तयारी गरेपछि प्रभावित बासिन्दाहरू राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल र दबाब बढाउन सक्रिय भएका छन्।







