सरकारको सुकुम्बासी बस्ती हटाउने तयारीप्रति एमालेको आपत्ति

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारको सुकुम्बासी बस्ती हटाउने तयारीप्रति एमालेको आपत्ति

काठमाडौ । नेकपा एमालेले सरकारले सुकुम्बासी बस्तीहरू बल प्रयोग गरेर हटाउन लागेको भन्दै कडा आपत्ति जनाएको छ। पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो कदमले संविधानले दिएको मौलिक अधिकार र मानवअधिकारको उल्लंघन हुने बताएको छ।

एमालेले सुकुम्बासीलाई जबर्जस्ती हटाउनु अमानवीय हुने भन्दै यसलाई घोर भर्त्सना गरेको छ। एमालेका अनुसार सुकुम्बासी समस्या सामाजिक र आर्थिक रूपमा जटिल विषय भएको भन्दै यसको समाधान बल प्रयोग गरेर होइन, संवाद र सहमतिबाट गर्नुपर्ने जनाएको छ । 

पार्टीले प्रभावित परिवारसँग छलफल, वैकल्पिक बसोबास, क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। साथै, बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको विशेष सुरक्षा गर्नुपर्ने पनि उल्लेख गरेको छ।

एमालेले राष्ट्रिय भूमि आयोगमार्फत सुकुम्बासीको लगत संकलन र व्यवस्थित बसोबासको काम अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ। त्यसैगरी, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा पार्टीले जोड दिएको छ।

सरकारले भने बागमती नदी किनारका अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको छ।