सुकुम्बासी बस्ती हटाउँदा बल प्रयोग नगर्न मानव अधिकार आयोगको निर्देशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासी बस्ती हटाउने क्रममा अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौँका बागमती किनारलगायत क्षेत्रमा बस्ती हटाउने तयारीप्रति ध्यानाकर्षण भएको जनाएको हो।
आयोगका अनुसार सुकुम्बासीलाई हटाउनु अघि वास्तविक सुकुम्बासीको पहिचान गर्न र उनीहरूको वैकल्पिक बसोबासको व्यवस्था गर्न आवश्यक छ। बिना तयारी बल प्रयोग गरेर बस्ती हटाउनु उचित नहुने आयोगको भनाइ छ।
आयोगले २०६९ सालमा दिएको सिफारिश पनि स्मरण गराउँदै त्यसको कार्यान्वयनको अवस्था बारे सरकारसँग जानकारी मागेको छ। साथै, प्रगति विवरण बुझाउन पनि निर्देशन दिएको छ। आयोगले बस्ती हटाउने क्रममा संयम अपनाउन र मानव अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।
यसैबीच, सरकारले थापाथलीलगायत नदी किनारका सुकुम्बासीलाई शुक्रबार साँझसम्म घर टहरा खाली गर्न भनेको छ। तोकिएको समयभित्र खाली नगरे शनिबारदेखि हटाउने तयारी गरिएको छ।








