ट्रम्पले जी–२० सम्मेलनमा पुटिनलाई निम्तो दिने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हुने जी-२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निम्तो दिने तयारी गरेका छन्। डिसेम्बरमा मायामीमा हुने सम्मेलनका लागि अहिलेसम्म औपचारिक निम्तो भने पठाइएको छैन। तर अमेरिका पक्षले रूस जी–२०को सदस्य भएकाले उसलाई सहभागी गराउने संकेत दिएको छ।
जी-२० विश्वका ठूला अर्थतन्त्रहरूको समूह हो, जहाँ विश्वका नेताहरूले विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गर्छन्। जी-२० विश्वका १९ ठूला अर्थतन्त्रहरू, युरोपेली संघ र अफ्रिकी संघ सम्मिलित एक अन्तरसरकारी मञ्च हो। वार्षिक रूपमा आयोजना हुने यो शिखर सम्मेलनले विश्वका नेताहरूका लागि विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने अवसर जुटाउँछ।
रूसले भने सन् २०१९ यता सम्मेलनमा सक्रिय रूपमा भाग लिएको छैन। कोरोना महामारी र युक्रेन युद्धका कारण राष्ट्रपति पुटिन सहभागी भएका छैनन्। पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरिसकेको छ।
त्यसैले धेरै पश्चिमी देशहरूले उनलाई बहिष्कार गर्दै आएका छन्। यस्ता अवस्थाबीच पनि ट्रम्पले पुटिनलाई निम्तो दिने तयारी गरेको विषयलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ।







