सिन्धुली हिरासतमा थुनुवाको आत्महत्या प्रकरण छानबिन गर्न समिति गठन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सिन्धुली प्रहरी हिरासतमा एक थुनुवाले आत्महत्या गरेको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।
नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो। समितिमा एसपी रविन्द्रनाथ पौडेल, इन्स्पेक्टर ईन्द्रजित सुनार, इन्स्पेक्टर प्रेम रेग्मी र सई राजेश्वर सापकोटा सदस्य रहेका छन्।
जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकले गत वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा आत्महत्या गरेका थिए। उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
घटनाबारे सत्य तथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रहरीले जनाएको छ। समितिलाई सात दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।








