सरकारले तीन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्‍यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारले तीन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्‍यो

काठमाडौ । सरकारले हालै बसेका तीन वटा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

वैशाख २, ८ र १० गते बसेका बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। सरकारले नियमित रूपमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पछिल्ला तीन बैठकका मुख्य निर्णयहरू जानकारी गराएको हो।

ती बैठकहरूमा भएका निर्णयहरूको विस्तृत विवरण आवश्यक परेपछि थप सार्वजनिक गरिने सरकारले जनाएको छ।

मन्त्रिपरिषद्का निर्णयहरुः–

  • वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका मुख्य राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन र छानबिन गर्न आयोग गठन गरिएको छ।
  • बेपत्ता पारिएका व्यक्तिको छानबिन र मेलमिलाप कोषका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने १ मिलियन स्वीस फ्रयांक (करिब १० करोडभन्दा बढी) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। -आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न कार्यालयका प्रमुख तथा कर अधिकृतहरूलाई तोकिएको क्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ।
  • नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता (२०८२ फागुन ५ मा भएको) अनुमोदनका लागि प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको छ।
  • राष्ट्रिय राजमार्ग र स्थानीय सडक अन्तर्गतका निर्माणाधीन १६२ वटा पुलहरूको अनिवार्य दायित्व भुक्तानीका लागि आवश्यक बजेट रकमान्तर र थप बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
  • इजरायलको गाजा क्षेत्रमा भएको आक्रमणमा परि मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
  • 'आरोग्य पर्यटन रणनीति २०२६-२०३५' र 'कार्ययोजना २०२६-२०३०' स्वीकृत गरिएको छ।
  • नेपाल र कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी 'फ्रेमवर्क एग्रिमेन्ट' स्वीकृत गरिएको छ। साथै, हङकङका लागि नेपाली महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाइएको छ।
  • माथिल्लो मिदिम, बकान खोला र माथिल्लो खुदी जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा २५ वर्षका लागि प्रयोग गर्न र रुखहरू हटाउन स्वीकृति दिइएको छ।
  • नेपाली सेनाका सहायक रथीहरूलाई उपरथी दर्जामा बढुवा गरिएको छ।
  • नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ।
  • सचिव राम आधार शाहलाई अनिवार्य अवकाशको जानकारी गराउँदै बिदाइ गरिएको छ।
  • संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी सिफारिसलाई विशेष कारणवश स्थगित गरिएको छ।