नेपाल-यूएई भिडन्त: पहिले ब्याटिङ गर्दै नेपाल, ओडीआई मान्यता जोगाउने चुनौती

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाल-यूएई भिडन्त: पहिले ब्याटिङ गर्दै नेपाल, ओडीआई मान्यता जोगाउने चुनौती

काठमाडौ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार यूएईविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ।

यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर बलिङ रोजेपछि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली ब्याटिङमा उत्रिएको हो। अंक तालिकाको तल्लो स्थानमा रहेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्त्वपूर्ण छ।

लिग-२ मा शीर्ष ६ मा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु दुवै टोलीको प्रमुख लक्ष्य भएकाले यो मुकाबिला दुवैका लागि 'गर्नु वा मर्नु'को खेल बनेको छ।

अहिलेसम्म २० खेल खेलेको नेपाल ५ जित, १३ हार र २ नतिजाविहीन खेलबाट १२ अंक बटुली तालिकाको सातौँ स्थानमा छ। यूएई भने समान संख्यामा खेल खेली ५ जित र १५ हारसहित १० अंकमा तालिकाको पुछारमा खुम्चिएको छ। तेस्रो टोली ओमान २४ खेलबाट २९ अंक कमाई तेस्रो स्थानमा सहज अवस्थामा छ।

नेपाल आज कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीको प्लेइङ-११ सहित मैदानमा उत्रिएको छ। अनुभवी लेग स्पिनर सन्दीप लामिछानेको उपस्थितिले नेपालको बलिङ आक्रमण थप धारिलो हुने अपेक्षा गरिएको छ।

घरेलु मैदानमा खेलिरहेको नेपालका लागि दर्शकको साथ र अनुकूल पिचको फाइदा उठाउँदै जित निकाल्नु अपरिहार्य भएको छ। यो खेलमा पराजय भए नेपालको ओडीआई मान्यता जोगाउने अभियान झनै कठिन बन्ने निश्चित छ।