सुकुम्वासी बस्ती हटाउँदै सरकार, प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुकुम्वासी बस्ती हटाउँदै सरकार, प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था

काठमाडौ । काठमाडौं उपत्यकाका नदी किनार र सरकारी जग्गामा बनाइएका सुकुम्वासी बस्ती हटाउने काम सरकारले तीव्र बनाएको छ। शनिबार थापाथलीस्थित बस्ती खाली गराइएको छ भने गैरीगाउँ र शान्तिनगरमा पनि अभियान जारी रहेको जनाइएको छ।

सरकारले गोठाटार र मनोहरा टोलका अनधिकृत बस्ती पनि हटाउने तयारी गरेको छ। विभिन्न क्षेत्रमा रहेका सयौं घरधुरीमध्ये केही बस्ती भत्काइसकिएको बताइएको छ।

बस्ती खाली गराउने क्रममा प्रहरी र महानगरका सुरक्षाकर्मीले स्थानीयको सामान सार्न सहयोग गरेका छन्। थापाथलीमा बस्ती शान्तिपूर्ण रूपमा खाली गरिएको र स्थानीयले सरकारलाई साथ दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई अस्थायी रूपमा राख्न काठमाडौंका होटेलमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ। घरायसी सामान भने सुन्दरीघाटमा सुरक्षित राखिएको छ।

आइतबारदेखि वास्तविक सुकुम्वासीको पहिचान सुरु गरिने र योग्य परिवारलाई दुई साताभित्र नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ। सरकारले यसलाई केवल बस्ती हटाउने अभियान नभई दीर्घकालीन व्यवस्थापनको सुरुवातका रूपमा अघि बढाएको जनाएको छ।