काठमाडौका पाँचवटा सुकुम्बासी टोलमा ८७१ ‘अनधिकृत’ घरधुरी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले काठमाडौ उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका घरटहरा खाली गराउने कार्य जारी राखेको छ ।
शनिबार काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराइएको छ । काठमाडौं–९, गैरीगाउँ र वडा नम्बर–३१, शान्तिनगरस्थित सुकुम्वासी बस्ती पनि खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार, बुद्धचोक र वडा नम्बर–९ को मनोहरा टोलका अनधिकृत बस्ती खाली गर्ने सरकारको तयारी छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकानुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ ‘अनधिकृत’ घरधुरी रहेकामा केही भत्काइएको छ ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ,” सचिवालयले भनेको छ ।
हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् । अरू स्थानबाट पनि यसरी सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटेलमा राख्ने तयारी छ ।
“हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
होटेलमा राखिने परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबार (वैशाख १३)देखि थालिने जनाइएको छ । “वास्तविक सुकुम्वासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने जानकारी गराइएको छ ।







