विवादित भिडियोपछि सांसद विश्वराज पोखरेलद्वारा क्षमायाचना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद भिडियोप्रति क्षमा मागेका छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले घटनाको पूरा सन्दर्भ नबुझी आंशिक भिडियो सार्वजनिक हुँदा वास्तविकता फरक देखिएको बताएका छन्।
वैशाख ९ गते ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकास्थित एक विद्यालयमा पुगेका बेला प्रधानाध्यापकलाई लक्षित गरी आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो।
यस विषयमा पोखरेलले सार्वजनिक जीवनमा बोलाइ र व्यवहारमा थप संयम आवश्यक हुने स्वीकार गरेका छन्। आफ्नो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मानमा चोट पुगेको भए हृदयदेखि माफी माग्ने उनले बताएका छन्।
घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रबाट समेत उनको व्यवहारमाथि टिप्पणी भएको थियो। त्यसपछि उनले औपचारिक रूपमा क्षमायाचना गरेका हुन्। पोखरेलले आगामी दिनमा अझ जिम्मेवार, मर्यादित र संवादमुखी भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।








