नेपालले यूएईलाई ३७ रनले हरायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपालले यूएईलाई ३७ रनले हरायो

काठमाडौ । नेपाली क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा भएको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २०० रन बनायो। जवाफमा यूएईले २०१ रनको लक्ष्य खेद्दा ४८.१ ओभरमा मात्रै १६३ रनमा अलआउट भयो।

उपकप्तान दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा उत्कृष्ट रहे। उनले ९० बलमा ७५ रनको शानदार इनिङ खेले र करण केसीसँग मिलेर टोलीलाई सम्हाले। यो उनको एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौँ अर्धशतक हो।

बलिङमा करण केसी चम्किए ।उनले मात्र १९ रन दिएर ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए।

यो जितसँगै नेपालले १४ अंक जोड्यो। तालिकामा सातौँ स्थानमा रहेको नेपालले अहिलेसम्म २१ खेलमा ६ जित र १३ हार व्यहोरेको छ। यूएई भने पुछारमै छ । २० खेलमा ५ जित र १५ हारसहित १० अंकमा सीमित छ। अब यी दुई टोलीबीच मे १ मा दोस्रो खेल हुनेछ।