भारी वर्षासँगै मौसम बदली, अझै पानी पर्ने सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of भारी वर्षासँगै मौसम बदली, अझै पानी पर्ने सम्भावना

काठमाडौ । देशका विभिन्न जिल्लामा शनिबार साँझ भारी वर्षा भएको छ। मौसम बदलीसँगै अब अझै केही दिन वर्षा जारी रहने मौसम विभागले जनाएको छ।

पछिल्लो १२ घण्टामा लमजुङमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोल्पा, प्यूठान र काभ्रेमा पनि भारी वर्षा भएको विभागले जनाएको छ। कास्की, गुल्मी र धनकुटामा पनि पानी परेको छ।

मौसमविद्का अनुसार वर्षा बढेसँगै केही दिनदेखि देखिएको गर्मी र तातो लहर कम हुने भएको छ। अहिले पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम प्रभावित बनेको छ।

आइतबार पनि कोशी, मधेस, बागमती र गण्डकीसहित पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र धेरै ठाउँमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ। केही उच्च क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने अझै गर्मी रहने सम्भावना रहेको विभागले जनाएको छ। मौसम खराब रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।