मनोहरा खोला किनारमा रहेको सुकुमबासी बस्तीमा चल्यो डोजर

User Image Prime TV News १ हप्ता अगाडि
Image of मनोहरा खोला किनारमा रहेको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौ । मनोहरा खोला किनारमा रहेको सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने काम आइतबार बिहानदेखि सुरु गरिएको छ। भक्तपुरबाट खटिएका करिब १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर बस्ती खाली गराउने र संरचना भत्काउने काम अघि बढाइएको हो।

जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार स्थानीयलाई बिहान ९ बजेसम्म आफैं घरटहरा हटाउने समय दिइएको थियो। निर्धारित समयपछि काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली बस्तीमा पुगेपछि घरटहरा भत्काउन थालिएको हो। अधिकांश बासिन्दाले पहिले नै आफ्ना सामान सारेर घर खाली गरिसकेका छन्।

उक्त बस्तीमा कुल ७७७ घरटहरा रहेको बताइएको छ। यसअघि शनिबार साँझ पनि सात वटा पक्की घर भत्काइएको थियो। त्यस क्रममा केही स्थानीयले अवरोध गर्दा झडप भएको थियो, जसमा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

हाल बस्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घरटहरा हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ।