राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना: संसद् र सरकारको निरन्तरताकालागि निर्वाचनका


काठमाडाै । नेपालीहरुकाे महान् चाड बडादसैँका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य र उत्तरोत्तर प्रगतिका लागि कामना गरेका छन्। उनले दसैँ पर्वको संरक्षण र संवर्धनबाट राष्ट्रप्रति अटल सम्मान र गहिरो प्रेमको भावना उत्पन्न हुने विश्वास व्यक्त गरे।
"बडादसैँ, २०८२ ले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा विकास गर्न सकोस्," राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
सन्देशमा हाल मुलुकले भोगिरहेको विषम परिस्थिति, मानवीय तथा भौतिक क्षतिलाई उपयुक्त रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबै पक्ष संयमित र सहकार्यशील हुनुपर्नेमा जोड दिएका छन्। समस्याहरूको समाधान र राष्ट्रिय हितका लागि साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ।
उता, उपराष्ट्रपति यादवले विजयादशमीले पारम्परिक मूल्य, जीवनशैली र सामाजिक सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय पहिचान र एकता बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले जारी गरेको शुभकामना सन्देशमा संविधानले सुनिश्चित गरेका अधिकार, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनअपेक्षा थप सुदृढ बनाउने प्रेरणा विजयादशमीले प्रदान गरोस् भन्ने कामना गरिएको छ।