चुनावमा कमजोर नतिजा, तर एजेण्डा बलियो रहेको लिङ्देनको दाबी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले चुनावमा सिट गुमाए पनि राजनीति नहारेको बताएका छन्। तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै उनले राप्रपाको विचार अझै आवश्यक रहेको बताए।
उनले चुनावमा अपेक्षित नतिजा नआए पनि पार्टीको एजेण्डा बलियो नै रहेको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको नतिजालाई असामान्य भन्दै आगामी दिनमा त्यसलाई कायम राख्न गाह्रो हुने बताए । साथै उनले “सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ टिकिरहन सकिँदैन,” भन्दै अरू पार्टीको सफलता स्थायी नहुने संकेत गरे।
लिङ्देनले राप्रपा जनताको भरोसायोग्य विकल्प बन्नुपर्नेमा जोड दिए। उनले पार्टी राजाको नभई राजसंस्था मान्नेहरूको भएको स्पष्ट पारे। पार्टीभित्र देखिएको विवादबारे बोल्दै उनले अब अनुशासनहीन काम सहन नसकिने बताए। आवश्यक परे कारबाही गर्ने पनि उनले चेतावनी दिए।
महाधिवेशनको विषयमा उनले जिल्ला अधिवेशन सकिएपछि केन्द्रीय समितिले मिति तय गर्ने जानकारी दिए। राप्रपाले अहिले विभिन्न प्रदेशमा समीक्षा कार्यक्रम गरिरहेको छ।







