कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लागेको छः प्रदीप ज्ञवाली
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमै ठूलो धक्का लागेको बताएका छन्। पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७ औँ स्मृति दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।
ज्ञवालीका अनुसार फागुन २१ को निर्वाचनपछि कम्युनिष्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिले नै धक्का व्यहोरेको छ। उनले अहिलेको सरकारका गतिविधिबाट देश बिस्तारै “निर्वाचित सर्वसत्तावाद” तर्फ जान सक्ने चिन्ता बढेको पनि बताए।
उनले सरकारमाथि ट्रेड युनियन, विद्यार्थी संगठन र स्वतन्त्र मिडियासँग सम्बन्धित गतिविधिमा प्रश्न उठ्ने खालका काम भइरहेको आरोप पनि लगाए। ज्ञवालीले मनमोहन अधिकारीलाई युवालाई अवसर दिने नेता भन्दै प्रशंसा गरे। उनले २०४७ सालमा पार्टी एकता हुँदा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाइएको उदाहरण दिँदै युवालाई नेतृत्वमा ल्याउने अभ्यास भएको बताए।
उनले अहिलेको राजनीतिमा पुस्ताबीच असन्तुलन देखिएको भन्दै देश विकासका लागि अनुभव र युवाशक्तिको संयोजन आवश्यक रहेको बताए।







