मनमोहन अधिकारी निष्ठा र संघर्षका प्रतीक हुन्ः ईश्वर पोखरेल

User Image Prime TV News १ हप्ता अगाडि
Image of मनमोहन अधिकारी निष्ठा र संघर्षका प्रतीक हुन्ः ईश्वर पोखरेल

काठमाडौ ।नेकपा एमालेका नेता ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई ‘अविचलित निष्ठाको प्रतीक’का रूपमा चित्रण गरेका छन्। मनमोहन अधिकारीको २७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अधिकारीको राजनीतिक संघर्ष, योगदान र त्यागको स्मरण गरे।

पोखरेलले मनमोहन स्मृति प्रतिष्ठान स्थापना गर्न भूमिका खेल्ने दिवंगत व्यक्तिहरूलाई पनि सम्मानका साथ सम्झिए। उनले प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा. गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले मनमोहन अधिकारीका विचारलाई संस्थागत गर्न सहयोग पुगेको बताए।

उनका अनुसार मनमोहन अधिकारीको राजनीतिक यात्रा नेपाल कम्युनिस्ट पार्टी गठन हुनुभन्दा अघि नै सुरु भएको थियो। उनले भारतमा रहँदा स्वतन्त्रता आन्दोलनमा सहभागी भई जेल जीवन पनि बिताएको स्मरण गरे।

नेपाल फर्किएपछि पनि उनले लामो समय जेल जीवन र यातना भोगे तर आफ्नो सिद्धान्तबाट कहिल्यै नडगमगाएको पोखरेलले बताए। पोखरेलले हेलिकप्टर दुर्घटनापछि शारीरिक रूपमा कमजोर भए पनि मनमोहन अधिकारीको आत्मबल कमजोर नभएको उदाहरण दिँदै उनको भनाइ उद्धृत गरे, “मेरा दुइटा खुट्टा थिए, अब चारवटा भएका छन्।”

उनले मनमोहन अधिकारीको जीवनबाट अहिलेको राजनीतिले सिक्नुपर्ने मुख्य कुरा कठिन परिस्थितिमा पनि निष्ठा र सिद्धान्त नछोड्नु रहेको बताए।