इरान वार्ता भ्रमण रद्द, ट्रम्पले दूतलाई पाकिस्तान नजान आदेश
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि वार्ता गर्न जाने तयारीमा रहेका आफ्ना दूतहरूलाई पाकिस्तान नजान निर्देशन दिएका छन्। फक्स न्युजका अनुसार दूतहरू प्रस्थान गर्नै लाग्दा ट्रम्पले १८ घण्टाको लामो उडान नगर्न आदेश दिएका हुन्।
उनले आफ्ना अधिकारीहरू “निरर्थक वार्तामा समय खेर फालिरहेको” हेर्न नचाहेको बताएका छन्। ट्रम्पले “अमेरिकासँग सबै शक्ति छ, इरानले चाहेको बेला हामीलाई फोन गर्न सक्छ” भन्ने टिप्पणी पनि गरेका छन्। यसैबीच, भ्रमण रद्द हुनु बाध्यात्मक हो वा रणनीतिक निर्णय हो भन्नेबारे चर्चा भइरहेको छ। अमेरिकी टोली निस्कनुअघि नै इरानी विदेशमन्त्री अब्बास अरागची पाकिस्तानबाट अर्को गन्तव्यतर्फ गइसकेका थिए।
ट्रम्पले इरानको नेतृत्वमा आन्तरिक मतभेद रहेको दाबी गर्दै उनीहरूलाई नै सत्ता कसको हातमा छ भन्ने स्पष्ट नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पनि अमेरिकासँग सबै शक्ति रहेको र इरानले वार्ता गर्न चाहे फोन गर्न सक्ने बताएका छन्। साथै, पाकिस्तान भ्रमण रद्द हुनु युद्ध पुनः सुरु हुने संकेत नभएको पनि स्पष्ट पारेका छन्।
यता, इरानी विदेशमन्त्री अरागचीले पाकिस्तान भ्रमण फलदायी भएको बताएका छन्। उनले शान्ति प्रयासमा पाकिस्तानको भूमिकाको प्रशंसा गर्दै ओमान पुगेको जानकारी दिएका छन्। तर उनले अमेरिका कूटनीतिक प्रक्रियाप्रति कति गम्भीर छ भन्ने विषयमा प्रश्न उठाएका छन्। उनले युद्ध अन्त्यका लागि आफ्नो पक्ष स्पष्ट भए पनि अमेरिकाको प्रतिबद्धता अझै हेर्न बाँकी रहेको बताएका छन्।







