ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा जारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी रहेको छ। शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्याइएको थियो। आइतबारको कार्यक्रमअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लैजाने तयारी गरिएको छ।
जात्रामा ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरू सहभागी भएका छन्। वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रामध्ये एक हो। रातो मत्स्येन्द्रनाथको जात्राको सुरुआत लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ।
पौराणिक कथाअनुसार उपत्यकामा १२ वर्षसम्म खडेरी परेपछि वर्षा गराउनका लागि मत्स्येन्द्रनाथलाई भारतको कामरुप कामाख्याबाट नेपाल ल्याइएको थियो। गुरु गोरखनाथका कारण नागहरू बाँधिएर वर्षा रोकिएको विश्वास गरिन्छ। पछि मत्स्येन्द्रनाथ नेपाल ल्याइएपछि नागहरू मुक्त भई वर्षा भएको कथन छ।
त्यसपछि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुज्ने परम्परा सुरु भएको हो। अहिले पनि यो जात्रा उपत्यकाको महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।







