नेकपा संयोजन समितिको बैठक आज बस्दै, संगठन विस्तारबारे निर्णयको तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपा संयोजन समितिको बैठक आज बस्दै, संगठन विस्तारबारे निर्णयको तयारी

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गरिने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय गठन तथा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल हुनेछ। यसअघि चुनावी समीक्षा र पार्टीको भावी योजनाबारे छलफलका लागि विभिन्न चरणमा बैठकहरू बसेका थिए। सो क्रममा संयोजक प्रचण्डले चुनावी समीक्षा प्रतिवेदन पेस गरेका थिए, जसमा नेताहरूले सुझाव दिएका थिए।

उक्त सुझावका आधारमा प्रतिवेदन पुनर्लेखन गर्ने निर्णय यसअघि नै भइसकेको जनाइएको छ। आजको बैठकले प्रदेश इन्चार्ज तथा सह–इन्चार्ज तोक्ने, विभागीय जिम्मेवारी बाँडफाँड गर्ने र पार्टी संरचना व्यवस्थित गर्ने विषयमा निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ। त्यसैगरी केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा पनि प्रस्ताव आउने बताइएको छ।

बैठकले पार्टी एकता प्रक्रिया, संगठन समायोजन र आगामी महाधिवेशनको मिति सम्बन्धी विषयमा पनि निर्णय लिन सक्ने जनाइएको छ।