सुकुम्वासी बस्तीबाट बिस्तापित २१४ परिवार मात्र पुगे सरकारको सम्पर्कमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने काम आज पनि जारी राखेको छ। आइतबार बिहानैदेखि सरकारी टोलीले हिजो बाँकी रहेका संरचना हटाउने र जग्गा खाली गर्ने काम अघि बढाएको हो।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नम्बर–९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीका संरचना हटाएर खाली गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार बस्तीमा रहेका परिवारलाई आफ्ना सामान निकाल्न सुरक्षाकर्मीले सहयोग गरेका थिए।
त्यसपछि बाँकी रहेका काठमाडौँ–९ को गैरीगाउँ र वडा नम्बर–३१ को शान्तिनगर क्षेत्रका नदी किनार तथा सरकारी जग्गा खाली गर्ने तयारी गरिएको छ। यसअघि शनिबार थापाथली क्षेत्रमा रहेको सरकारी जग्गा खाली गरिएको थियो। उक्त काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको सरकारले जनाएको छ।
सरकारका अनुसार हालसम्म २१४ परिवार सम्पर्कमा आएका छन्। उनीहरूलाई अस्थायी रूपमा विभिन्न होटलमा बसोबास र खानपानको व्यवस्था गरिएको छ।







