फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आगामी जेठ ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपाने लगायत फिचर्ड छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको मायाप्रेमलाई चित्रण गरेको छ। ‘भुनभुन माहुरी’ बोलको गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वर पनि उनकै छ। उनलाई महिला स्वरमा लक्ष्मी मल्लले साथ दिएकी छन्। निङ्मा डी लेप्चाको कोरियोग्राफीमा दयाहाङ, सौगात र रुषा छमछमी नाँचेका छन्।
यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ।







