एमआरपी लागू गर्न नीतिगत सुधार आवश्यक : व्यवसायी महासंघ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्नुअघि नीतिगत सुधार आवश्यक रहेको जनाएको छ। महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले वर्तमान आर्थिक संरचना र कर प्रणालीका कारण निजी क्षेत्रले एमआरपी कार्यान्वयन गर्न कठिनाइ हुने बताएका छन्।
महासंघको ८ औँ वार्षिक साधारणसभामा बोल्दै उनले एमआरपीको व्यवहारिक पक्षबारे गम्भीर छलफल आवश्यक रहेको बताए। उनले सानो अर्थतन्त्र भएको देशमा एमआरपी कत्तिको आवश्यक छ र त्यसलाई कार्यान्वयन गर्न कति सहज हुन्छ भन्ने विषयमा स्पष्ट बहस हुनुपर्ने बताए ।
श्रेष्ठले एमआरपी नीति अध्ययन र सरोकारवालासँग समन्वय गरेर ल्याइएको हो वा हतारमा लागू गर्न खोजिएको हो भन्ने अझै स्पष्ट नभएको बताए। महासंघले एमआरपीको विरोध नगरे पनि यसको कार्यान्वयनमा धेरै चुनौती रहेको जनाएको छ। अध्यक्ष श्रेष्ठले कर प्रणाली, उच्च भन्सार दर, न्यून बिलिङ र अवैध व्यापारका कारण बजारमा असमान प्रतिस्पर्धा रहेको भन्दै यस्तो अवस्थामा एमआरपी लागू गर्न कठिन हुने बताए।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन कर प्रणाली सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए। त्यस्तै, रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र उपभोक्ता अधिकारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।
कालोसूचीमा परेका व्यवसायीलाई निश्चित समय दिएर सूचीबाट हटाउनुपर्ने र भन्सार दर घटाउनुपर्ने माग पनि उनले गरेका छन्।







