एमालेले नयाँ पुस्ता लक्षित कार्यक्रम ल्याउने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टीमा नयाँ पुस्ताको आकर्षण बढाउन युवा केन्द्रित कार्यक्रम ल्याउने भएको छ। वैशाख १० गते बसेको प्रदेश कमिटी अध्यक्षहरूको समन्वय तथा परामर्श बैठकले पार्टी सदस्यता विस्तारमा युवाको सहभागिता बढाउने निर्णय गरेको हो।
महासचिव शकर पोखरेलले हस्ताक्षर गरी पठाएको निर्देशनमा आईटी र डिजिटल माध्यमको प्रयोग गरेर युवालाई पार्टीमा जोड्ने योजना उल्लेख गरिएको छ। पार्टीका नेता तथा कार्यकर्ताका छोराछोरीलाई पनि समेट्ने तयारी गरिएको छ।
त्यस्तै, नयाँ पुस्ताको संगठन अनेरास्ववियुमार्फत युवालाई संस्थागत गर्दै लैजाने योजना पनि अघि सारिएको छ। निर्देशनमा अबका सबै पार्टी गतिविधि ३० वर्षमुनिका युवालाई ध्यानमा राखेर गर्नुपर्ने उल्लेख छ। बैठकले गरेका ८ बुँदे निर्णयहरू कार्यान्वयनका लागि तल्ला तहसम्म पठाइएको एमालेले जनाएको छ।







