स्पेनमा बस्ने नेपालीलाई आवेदन प्रक्रियामा कठिनाइ, कागजात प्रमाणीकरण दिल्लीमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । स्पेनमा बसोबास गर्दै आएका नेपालीले स्थायी बसोबासका लागि आवेदन दिन नयाँ समस्या झेल्नुपर्ने भएको छ। स्पेन सरकारले सुरु गरेको ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन’ कार्यक्रममा आवेदन दिन कागजात प्रमाणित गर्न अब भारतको नयाँ दिल्ली जानुपर्ने भएको हो।
यसअघि काठमाडौंस्थित स्पेनी महावाणिज्य दूतावासबाट हुने कागजात लिगलाइजेसन सेवा अहिले बन्द गरिएको छ। अब नेपाली कागजात प्रमाणित गर्ने काम नयाँ दिल्लीस्थित स्पेनको दूतावासले गर्नेछ। यसका कारण आवेदन दिन चाहने नेपालीहरूलाई कागजात लिएर दिल्ली जानुपर्ने र अन्तर्वार्ता पनि त्यहीँ दिनुपर्ने भएको छ।
यस कार्यक्रममा आवेदन दिन कम्तीमा ११ वटा कागजात आवश्यक पर्छ। जसमा वैवाहिक अवस्था र आपराधिक गतिविधिमा संलग्न नभएको प्रमाण पनि पेस गर्नुपर्ने हुन्छ। ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन २०२६’ कार्यक्रम सन् २०२५ डिसेम्बर ३१ भन्दा अघि कम्तीमा ५ महिना स्पेनमा बसेका आप्रवासीका लागि मात्र हो।
स्पेनले यस कार्यक्रममार्फत करिब ५ लाख गैरकानुनी आप्रवासीलाई कानुनी मान्यता दिने तयारी गरेको छ। आवेदन दिने अन्तिम मिति आगामी जुन ३० सम्म तोकिएको छ।








