सहकारी पीडितका लागि कोषमा २५ करोड मात्रै , तर बचतकर्ताले झण्डै ४० अर्ब रुपैयाँ फिर्ता मागे

User Image Prime TV News १ हप्ता अगाडि
Image of सहकारी पीडितका लागि कोषमा २५ करोड मात्रै , तर बचतकर्ताले झण्डै ४० अर्ब रुपैयाँ फिर्ता मागे

काठमाडौ । सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न बनाएको चक्रीय कोषमा २५ करोड रुपैयाँ मात्रै राख्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको बजेटअनुसार कोष स्थापना गरिएको भए पनि सुरुमा ठूलो रकम राख्ने योजना भए पनि अहिले कम रकम मात्रै छुट्याइएको हो।

अर्थ मन्त्रालयका अनुसार आगामी वर्ष थप रकम राख्नेबारे अझै निर्णय भएको छैन। सरकारले सहकारीको रकम अपचलन गर्ने व्यक्तिको सम्पत्ति बेचेर आएको पैसा पनि यही कोषमा राख्ने व्यवस्था गरेको छ। हाल देशभरका समस्याग्रस्त सहकारीमा करिब ६३ हजार बचतकर्ताले झण्डै ४० अर्ब रुपैयाँ फिर्ता मागेका छन्। यस्तो अवस्थामा २५ करोड रुपैयाँ पर्याप्त नहुने देखिएको छ।

सरकारले साना बचतकर्ता, ज्येष्ठ नागरिक, एकल महिला, दलित, आदिवासी र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर बचत फिर्ता गर्ने जनाएको छ। बचत फिर्ता गर्दा सहकारीको अभिलेखका आधारमा रकम निर्धारण गरिनेछ। साथै ऋण लिएका बचतकर्ताले पहिले ऋण तिर्नुपर्ने व्यवस्था पनि गरिएको छ। सीमित रकमका कारण सबै पीडितलाई तुरुन्त राहत दिन कठिन हुने देखिएको छ।