पुराना दलको कमजोरीले लोकप्रियतावादी शक्ति बढ्योः वर्षमान पुन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले पुराना दलहरूको कमजोरीका कारण लोकप्रियतावादी शक्तिहरूको उदय भएको बताएका छन्। १७३औं विश्व मजदुर दिवसका अवसरमा काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै उनले कांग्रेस–एमाले लामो समय सत्तामा रहँदा र आफूहरूको पनि शासन अनुभवका क्रममा भएका कमजोरीले जनतामा निराशा बढाएको बताए।
पुनले ३६ वर्ष कांग्रेस–एमाले र १८ वर्ष आफ्नै दल सत्तामा रहँदा जनतामा किन असन्तुष्टि बढ्यो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए। उनका अनुसार विद्यार्थी, मजदुर, कर्मचारी र शिक्षक संगठनको भूमिकामा कमजोरी हुँदा नागरिक संस्थाप्रति विश्वास घटेको हो।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले लोकतान्त्रिक अधिकार कमजोर हुँदा पनि जनता किन केही समूहप्रति आकर्षित भए भन्ने विषय बुझ्न आवश्यक रहेको बताए। उनले विश्वभर नै उदार लोकतन्त्र कमजोर हुँदै जाँदा लोकप्रियतावादी राजनीति बढिरहेको उल्लेख गरे। उनका अनुसार कतै धर्म, कतै जात र कतै बहुसंख्यकवादका आधारमा यस्तो प्रवृत्ति देखिएको छ।
पुनले बहुमतको नाममा विपक्षी आवाज दबाउने प्रवृत्ति बढ्नु लोकतन्त्रका लागि खतरा भएको बताए। उनले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको पनि बताए।







